थप समाचार मेनु
सबै मेनु

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्दै

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको छ ।

बिहीबार, बैशाख १४, २०८० १४:३८

बिहीबार, बैशाख १४ दाङ  , लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उहाँले दाबी पेश गर्नु भएको हो ।

लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहेका छन् । एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकएक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।
एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने माग गर्दै प्रदेश प्रमुख शेरचनलाई ज्ञापनपत्र बुझाएको थियो । 

आज बिहीवार दिउँसो ४ बजेसम्म बहुमतकाे सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखकाे कार्यालयले आह्वान गरेकाे थियाे । त्यहीअनुसार कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलसहित ५३ जना सांसदकाे हस्ताक्षर बुझाइएकाे कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
(एजेन्सिको सहयोगमा) 

सम्बन्धित समाचार